काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि बुधवार खुलेको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो ।
गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो ।सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो ।बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो ।
वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७२ प्रतिशत, बैंकिङ उपसूचक ०.५९ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ ।व्यापार उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले गिरावट भएको छ ।नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन ।
बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोडको सेयर कारोबार हुँदा अपी पावरको ४५ करोड ७८ लाख र एभरेस्ट बैंकको ४५ करोड १० लाखको सेयर कारोबार भएको छ । त्यस्तै सानिमामाई हाइड्रोपावरको ३६ करोड ८१ लाखको सेयर किनबेच भएको छ ।
बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्ती पावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै मल्टिपपर्स पाइनान्सको सेयरमूल्य सेयरमूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको हो ।कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मातृभूमि लघुवित्तको सेयरमूल्य ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको सेयर मूल्य ५.४८ प्रतिशतले घटेको छ ।