पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।बसमा सवार ४१ जना मध्य ११ जना बेपत्ता रहेका छन् । ४ जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।
आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको छ ।घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् । बस दुर्घटना हुनुकाे कारण भने अझै नखुलेको प्रहरीले बताएका छन ।