काठमाडौं ।नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान संशोधन गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान संशोधन गर्ने कुरा उठाइरहेको बताए ।
‘मध्य रातमा नेपाली कांग्रेस र एमालेको बीचमा सरकार गठनको लागि जुन सहमति भयो भनेर मिडियामा आइरहेको छ, त्यो नेपालको राजनीतिक इतिहासमा एउटा परिघट्ना हो । यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढिरहेको भन्ने थाहा हुन्छ ।
संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रुपमा षड्यन्त्रकारी ढङ्गले अघि बढ्नु सान्दर्भिक होइन ।’ शान्ति प्रक्रिया पश्चात प्राप्त गरेका उपलब्धिहरुलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संशोधनको चर्चा भएको उनको भनाइ छ । उनले वर्तमान उपलब्धि उल्टाएर २०४७ सालको संविधानको दिशामा लान खोजेको त होइन भन्दै आशंकासमेत व्यक्त गरे ।