पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनिस नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।
भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।
घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्यक्ष गुरुङले बताए ।
‘वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको खुल्यो । वीरेठाँटीस्थित एकयाप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका रहेछन्,’ वडाध्यक्ष गुरुङले भने, ‘लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेपछि मंगलबार एक जना पुरुषको शव परेको छ ।’
प्रशिद्ध पर्यटकीयस्थल घारेपानी जाने ट्रेकमा तिखे ढुंगा खाना खाने स्टेसन मानिन्छ । सो दिनको मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको घटनास्थलबाट गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् । शवलाई पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य भइरहेको एसपी थापाले जानकारी दिए ।