काठमाडौँ । नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त गरिएको छ ।बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली लगायत उपस्थित थिए ।चलचित्रको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरु नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने उनको भनाई छ । उनले भने, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईहरुको सहयोगको खाँचो छ ।’
यही भदौको अन्तिमबाट छायांकन सुरु गर्न लागिएको यो चलचित्रका मुख्य कलाकारहरू अहिले धमाधम वर्कशपमा लागिपरेका छन् । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका हुन् ।अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।