Ekhab4r
बंगलादेशमा बाढीले ११ जिल्ला प्रभावित,बाढीकाे कारण भारत  रहेको आरोप

काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।

बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् ।बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् ।

रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ ।पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ ।

बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयको आक्रोश भने भारततिर छ । केही दिनयता बंगलादेशका संगठनहरुले आफ्नो देश बाढी, पहिरो र डुबानको चपेटामा पर्नुमा भारत जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।बंगलादेश सरकारको पर्यावरण र जलवायु परिवर्तन तथा जल संशाधन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले भारतले नै दोषी देखाएका थिए । उनले भारतले त्रिपुराको डम्बुर जलविद्युत् परियोजनाको बाँध खोल्नुअघि बंगलादेशलाई सूचना नदिएका कारण समस्या भएको बताएका थिए ।

बंगलादेशका सञ्चार माध्यमले पनि यही विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन प्रसारण गरे । स्थिति यति गम्भीर भयो कि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुपर्‍यो ।१९ अगष्टदेखि त्रिपुरामा भारी वर्षापछि गोमती हाइड्रो–इलेक्ट्रिक प्रोजेक्टको बाँधका ढोका खोलिएका विषयमा सामाजिक सन्जालमार्फत् पनि भारतविरुद्ध टिकाटिप्पणी भएका थिए ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी बंगलादेशमा बाढी आउनुमा आफू जिम्मेवार नभएको भन्दै आरोप निराधार भएको जिकिर गरेको छ ।भारतको विदेश मन्त्रालयले भारत र बंगलादेश हुँदै बग्ने गोमती नदीको तटीय क्षेत्रमा भएको भारी वर्षा नै बाढी र डुबानको मुख्य कारण भनेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार त्रिपुरा डम्बुर बाँध बंगलादेशको सीमा क्षेत्रबाट १२० किलोमिटर टाढा छ । यसबाट बंगलादेशमा पनि ४० मेगावाट बिजुली आपूर्ति हुन्छ । हाल त्रिपुरा पनि बाढीको प्रकोपमा परेको छ ।बाढीले बढी क्षति पुर्याएको जिल्लाको सूचीमा गोमती पनि छ । गोमती जलविद्युत आयोजनाको डम्बुर बाँधका गेट खोलिदिएका कारण बंगलादेशका जिल्लाहरु डुबान भएको बंगलादेशका मिडियाहरुले लेखेका छन् ।

बंगलादेशका मिडियाहरुका अनुसार भारतले परक्का बाँधका ढोका खोलिदिएका कारण पनि बंगलादेश बाढीको चपेटामा परेको हो । यो भनाइको पनि भारतले खण्डन गरेको छ ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘फरक्का ब्यारेजबाट नदीको तल्लो क्षेत्रमा ११ लाख क्युसेकभन्दा बढी पानी प्रवाह भइ आफ्नो प्राकृतिक मार्ग हुँदै गंगा/पद्मा नदीमा मिसिन्छ । यो एक सामान्य मौसमी घटनाक्रम हो ।’ तर गलत भिडियो र अफवाह फैलाइएको भन्दै उनले तथ्यसहित स्थितिको सामना गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update