काठमाडौँ । घरेलु टोली अमेरिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो ।
पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले ।
लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन । २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए । मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो ।
त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो । यी दुई बिच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो । एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरे । उनी आउट हुँदा अमेरिकाले १५.४ ओभरमा १७३ रन बनाएको थियो । त्यसपछि जोन्स र कोरी एन्डरसनले जिताए ।
जोन्सले ४० बलमा ९४ रनको नटआउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे । एन्डरसन ५ बलमा ३ रनमा नटआउट रहे । क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए ।
डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे ।