Ekhab4r
जीबी राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किए

 काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ ।

एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राई मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो ।उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । ‘टोली मलेसिया गएर फर्केको हो, अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन मिल्दैन’, प्रहरी उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो ।पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो ।यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो । गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।

इन्टरपोललाई पठाइयो थप कागजात

यहीबीचमा नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ ।

जीबीलाई रेड नोटिस जारी गर्न यसअघि अदालती कागजातहरु, पक्राउ पूर्जी, अभियोजको पत्रलगायत कागजातहरु पठाइएको थियो । इन्टरपोलले जीबीबाट पीडितहरुको बयान कागज र साक्षीको बयान कागज माग गरेपछि ती कागजात अनुवाद गरेर पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

‘इन्टरपोलले थप कागजता मगाएपछि हामीले एक साताअघि पीडित र साक्षीका कागजात अनुवाद गरेर पठाएका छौं’, प्रहरी स्रोतले भन्यो

‘मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन् जीबी’

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ ।१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोतको भनाइ छ ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणा अनुसार बसिरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक कुँवर आफैंले बताएका थिए ।‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ’, १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए ।

स्थलमार्गबाट भारत हुँदै मलेसिया

जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए ।तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ ।जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले २०७६ सालपछिको विवरण हेर्दा सूर्यदर्शनमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर १६ माघमा पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेर चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको विवरण भेटिएको थियो ।

त्यसपछि उक्त सहकारीबाट थप १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको थियो । यो मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update