काठमाडौं । टिकटकमा चर्चित स्मारिका ढकालले ‘ज्ञान शाष्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् । टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।
स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । कलाकार समेत रहेका दिनेश कुवँरले निर्देशन गर्ने यो फिल्मको छायांकन तीजलगत्तै सुरु हुने तयारीमा छ ।पछिल्लो समय घरेलु फिल्ममा टिकटकरको डेब्यु क्रममा वृद्धि भएको देखिन्छ, यो सूचीमा स्मारिका पनि थपिएकी हुन् । लोभलाग्दो भ्युज र रमाइला भिडियोमार्फत उनी टिकटक प्रयोगकर्तामाझ चर्चित छिन् । स्मारिका पछिल्लो समयकी ब्यस्त म्युजिक भिडियोकी मोडल समेत हुन् ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशाष्त्र’लाई पहिलोपटक निर्माण इजाजत दिएका थिए । महिलाप्रधान यो फिल्मले शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । फिल्ममा स्मारिकाको शीर्ष भूमिका हुनेछ ।ढकालले आफूलाई स्क्रिप्ट मन परेर फिल्म खेल्न तयार रहेको बताइन् । ‘मेरा लागि फिल्म विशुद्ध नौलो हो । केही काम सिक्छु भनेर फिल्म साइन गरेकी हुँ’ उनले भनिन्, ‘स्क्रिप्ट पनि मन पर्यो ।’
फिल्ममा समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पोखरेल, सुरवि पण्डित, श्याम राई, पूर्णिमा थापा, ममता पौडेल, रामेश्वर रिजाल, दीपक अधिकारी, अनुज गुप्ता, मुस्कान काप्री, किशोर दुवाडी, आर्यन चुडाल, दिवससिंह कुवँरको पनि अभिनय तय छ । दिवस फिल्मसको ब्यानरमा प्रेमबहादुर श्रेष्ठ र बिकास बरालले फिल्म निर्माण गर्न लागेका हुन् ।
निर्माण नियन्त्रकको रुपमा भोला सुबेदी ‘आरजे प्रणव’ छन् । पटकथा आभास रानाले लेखेका हुन । छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।