काठमाडौँ । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली सङ्गठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ ।
विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ । सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रमलाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ ।
बाल्टिमोरको व्यस्त ठाउँमध्येको एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताए ।सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ । विगतका बर्सहरूमा झैँ नेपाली संस्कृति झल्किने गतिविधिलाई निरन्तरता दिइनेछ । नेपाल भन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृतिलाई विदेशी भूमिमा सबैमाझ देखाउने र यसलाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिए ।नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलको समेत सहयोग रहेको यो कार्यक्रमले विगतका बर्सहरूमा राम्रो चर्चा पाउँदै आएको छ ।
यो कार्यक्रम हेर्नका लागि विदेशीहरूको समेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ ।कार्यक्रममा मेरिल्यान्डमा विभिन्न व्यवसायी गर्दै आएका नेपालीहरूको साथ सहयोगका साथै नेपालको संस्कृति झल्किने गरेर स्टलहरू पनि राखिँदै आएका छन् । जुन यो पटक पनि राखिनेछ । यसका साथै महोत्सवमा नेपालको मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष किसिमका प्रस्तुतिहरू रहने भएका छन् । यसका साथै विभिन्न नेपाली कलाकार र स्थानीय कलाकारको पनि यो कार्यक्रममा प्रस्तुति रहने छ । आइतबारका दिन बिहान ११ बजेबाट सुरु हुने यो कार्यक्रम साँझ ५ बजेसम्म चल्ने बताइएको छ । पहिलो संस्करण देखि सातौँ संस्करणसम्म झन्डै नौ वर्षको अन्तरालमा यो कार्यक्रमले मेरिल्यान्डमा आफ्नै छुटै चर्चा कमाइसकेको छ ।
बानाले यो कार्यक्रमको सुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो सातौँ संस्करणसम्म पुग्दा निकै कम भइसकेको छ । तरपनि सानातिना चुनौतीहरू अहिले पनि बानाले भोग्दै आएको छ । तर पनि यो कार्यक्रमलाई मेरिल्यान्डमा बस्ने नेपालीहरूले आफ्नो संस्कृति झल्काउने कार्यक्रम भनेर राम्रो साथ र सहयोग गर्दै आएका छन् । बानाले नेपालमा मनाउँदै आइएका विभिन्न कार्यक्रमहरूलाई मेरिल्यान्डमा रहेका नेपालीहरूमाझ मनाउने गरेको छ ।