काठमाडौं । नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायाङ्कन थालेकी छन् । सिरिजको छायाङ्कन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा बिमलेश आफैँले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन् । सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए ।
सिचुएशनल कमेडी ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए । विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ । पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।
सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो । यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायाङ्कन र अप्सरा कटुवालको मेकअप रहेको छ ।हाल पहिलो सिजन छायाङ्कन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन । निर्देशक अधिकारीले पहिलो सिजन छायाङ्कन पश्चात् मात्र यसबारे जानकारी दिने बताए ।