Ekhab4r
जनगायक रामकृष्ण दुवाललाई मदन भण्डारी रूपान्तरण पुरस्कार 

काठमाडौं  । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित भएका छन् । 

मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ  । एक लाख रुपैयाँ नगदसहित सम्मान गरिने यो पुरस्कार दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पुर्याउनु भएको योगदान स्वरूप प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिएका छन् ।फाउन्डेसनले  आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा यो पुरस्कार प्रदान गर्ने जनाएको छ । फाउन्डेसनको रजत जयन्ती असोज ५ गते स्टाफ कलेज जाउलाखेलमा १ः ३० बजे मनाउने तयारी छ ।  दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हक अधिकार प्राप्तिका लागि संगीतका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आएका छन्  । 

२०३६ सालको पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन होस वा २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाको लागि भएको जनआन्दोलनमा दुवालले गीत संगीतको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गरेका थिए । दुवाल  एक संघर्षशील, प्रगतिशीलताको पक्षधर, अथक साधक, जनगायकको रूपमा निरन्तर क्रियाशील रहेका छन् । दुवाल यी नै कामका कारण गोरखा दक्षिणबाहु लगायत दर्जनौँ पुरस्कारबाट पुरस्कृत र अभिनन्दित पनि भइसकेका छन् ।निरंकुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएको प्रत्येक जनसंघर्षमा दुवालको संलग्नता रहेकोले पुरस्कार यहाँलाई प्रदान गर्न लागिएको अध्यक्ष पाण्डेले बताए । 

फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत  जानकारी गराउन खोजिएको पाण्डेले जानकारी दिए । उनले फाउन्डेसनले रजत जयन्तीका अवसरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको  विमोचनसमेत गर्ने तयारी भइरहेको पनि बताए । ‘जवजः नविन विचारको निरन्तरता’ भन्ने मूल नाराका साथ फाउन्डेसनले रजत जयन्तीको भव्य तयारी गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update