Ekhab4r
सीके राउत दम्पतीले एकअर्का विरुद्ध   दिए उजुरी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले आफुहरू एकअर्का बाट नै शान्ति सुरक्षामा खतरा   भएको भन्दै एक अर्काविरुद्ध छुट्टाछुट्टै प्रहरीसमक्ष निवेदन बुझाएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका हुन् ।सातदोबाटो प्रहरीका एक अधिकृतका अनुसार, राउतले इमाडोलमा श्रीमतीविरुद्ध शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको केही दिनपछि गत शुक्रबार उनीविरुद्ध पनि रानीले उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार, राउतले आफ्नो निवेदनमा श्रीमतीका कारण आफु बस्न सक्ने स्थितिमा नभएको विवरण निवेदनमा लेखेका छन् ।‘कहिले आत्महत्या गर्छु भन्ने, कहिले तोडफोड गर्छे’, उनको निवेदनमा भएको व्यहोरा उल्लेख गर्दै प्रहरी स्रोतले भन्यो । दुवै जनाले ठाडो निवेदन दिएको स्रोतको भनाइ छ ।

पत्नी रानीले दिएको निवेदनमा भने श्रीमान् सके राउतले सम्बन्ध विच्छेद गर्न दबाब दिएको भन्दै नगरे जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको उल्लेख गरेकी छन् ।‘मेरो पहुँच माथिल्लो निकाय, सरकारसम्म छ, म चाहेको खण्डमा जे पनि गर्न सक्छु, तिमी मसँग नबस, हाडीगाउँको घरमा जाऊ भनी दबाब दिँदै ज्यान सम्बन्धी धाकधम्की दिएको हुँदा असुरक्षित महसुस गरेको छु’, उनले भनेकी छन् ।

प्रहरीका अनुसार, राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि ललितपुर अदालतमा निवेदन दिइसकेका छन् । दुवै पक्षले निवेदन दिएपछि छलफल गराइदिनुपर्‍यो नभनेको जिल्ला प्रहरी परिसर, ललितपुरका अधिकृतहरु बताउँछन् ।‘त्यही भएर उहाँहरुको हकमा थप केही गरेका छैनौं, सम्बन्धविच्छेद गराउने प्रहरीले पनि होइन’, एक अधिकृतले भने, ‘उहाँहरु आउनुभयो हामीले बरु छलफल गरेर मिलाउने हो ।’

अहिले राउत र उनकी पत्नी इमाडोलस्थित एउटै घरमा बस्दै आएका छन् । दुवैको निवेदनमाथि अहिले अध्ययन मात्र भएको प्रहरी अधिकृतहरुको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update