Ekhab4r
जिम्बु थकाली रेष्टुराँलाई तीन लाख रुपैयाँ जरिवाना

 काठमाडौं- काठमाडौंको शान्तीनगरमा रहेको जिम्बु थकाली रेष्टुराँलाई वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले  तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

एमआरपी मूल्यभन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले जिम्बु थकालीमा छड्के अनुगमन गरेको हो ।महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुराँले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारवाही स्वरुप तीन लाख रुपैयाँ जरिवानासहित सचेत गराएको जानकारी दिए ।
उनले रेष्टुराँले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुराँ शिलबन्दी गर्ने बताए ।

उनले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताए । आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको उनले सुनाए ।काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि उनले जनाए ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update