Ekhab4r
इसराइलको आक्रमणमा लेबननमा एकैदिन ४९२ जनाको मृत्यु

 काठमाडौ । इसराइलको आक्रमणमा लेबननमा एकैदिन झन्डै पाँच सय जनाको मृत्यु भएको छ। इसराइलले गत मंगलबारदेखि हिजबुल्लाहविरूद्धको कारबाही भन्दै लेबननमा विभिन्न तरिकाको आक्रमण गर्दै आएकोमा सोमबारको आक्रमणमा एकैदिन ४९२ जनाको मृत्यु भएको हो।लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५  बालबालिका र ५८ जना महिला छन् । इसराइलको उक्त आक्रमणलाई सन् २००६ को इसराइल(हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ।आक्रमणमा १ हजार ६४५ जना घाइते भएको समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ। हिजबुल्लाहले पनि सोमबार इसराइलका उत्तरी भूभागहरूमा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि क्षतिबारे भने खुलाइएको छैन। इसराइलले लेबननमा गरेको आक्रमणप्रति कतार र इजिप्टले निन्दा गरेको छ। यसले मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा निम्त्याएको भन्दै इसराइललाई संयम रहन आग्रह गरेको छ।इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने  हिजबुल्लाहले हातहतियार राखेको ठाउँहरूबाट लेबननी नागरिकहरूलाई हट्न आग्रह गरेका छन्। उनले भिडिओ सन्देशमार्फत आफ्नो युद्द लेनबननीसँग नभई उनीहरूको आडमा आफ्नो गतिविधि सञ्चालन गर्ने हिजबुल्लाहसँग रहेको बताएका छन्।  त्यस्ता ठाउँहरू छाडि तत्कालका लागि सुरक्षित स्थानमा जानुहोला। हाम्रो कारबाही सकिएपछि तपाईंहरू आफ्नो घरमा सुरक्षित बस्न सक्नुहुन्छ,नेतन्याहूले भनेका छन्। इसराइलले शुक्रबार हवाई आक्रमणमा हिजबुल्लाहका दुई कमाण्डर मारिएका थिए। राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला ठूला भवनहरू रहेको ठाउँमा इसराइलले मिसाइल प्रहार गरी इब्राहिम अकिब र अहमद वाहबीलाई मारेको थियो। 

त्यसदिन लेबननमा ३७ जना मारिएका थिए। त्यसमध्ये १६ जनामात्रै हिजबुल्लाहका लडाकु थिए। त्यसअघिको मंगलबार लेबनन र सिरियाका केही ठाउँहरूमा  हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए।त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी(टकी अचानक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए। मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी(टकी विस्फोट भएर केही हताहत भएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update