Ekhab4r
विश्व शेर्पा संघद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै ,सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माण लगायतका मागहरू

न्यूयोर्क- विश्व शेर्पा संघले सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई न्यूयोर्कमा भेट गरी नेपालको हिमाली क्षेत्रका समस्या र शेर्पा समुदायको हितका विषयमा केही महत्वपूर्ण मागहरू राख्दै ज्ञापनपत्र बुझाएको छ।

संघले प्रधानमन्त्रीको राष्ट्रसंघको महासभा सहभागिता र अमेरिका भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको सोलुखुम्बु जिल्लामा पर्ने थामे गाउँको पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह गरेको छ। ज्ञापनपत्रमा थामे गाउँको प्राचीन बस्तीमा हिमताल फुटेर क्षतिग्रस्त भएको घरहरूको पुनर्निर्माणको माग गरिएको छ। गाउँको भौगोलिक अवस्थाका कारण पुनर्निर्माण कार्य अत्यधिक महँगो हुने भएकाले नेपाल सरकारले पूर्ण क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्न विशेष सहयोग गर्नुपर्ने संघको माग छ। साथै, गाउँको वासिन्दाले देशको सीमा सुरक्षामा खेलेको भूमिकाको कदर गर्दै थप सुरक्षा उपायहरू अवलम्बन गर्न पनि अनुरोध गरिएको छ।

ज्ञापनपत्रमा पर्बतारोहण पेशामा संलग्न शेर्पा समुदायको न्यूनतम जीवन बीमा रकम १५ लाखलाई बढाएर ३० लाख पुर्‍याउन, हिमाली क्षेत्रमा दुर्घटनामा परेका शेर्पा परिवारका बालबालिकाको शिक्षादिक्षा र रोजगारीको व्यवस्था गर्न, तथा पर्यटन क्षेत्रको प्रबर्द्धनमा शेर्पा समुदायको योगदानको कदर गर्दै उनीहरूको भबिष्यलाई सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ। त्यसैगरी, संघले नेपालका बौद्ध धर्मका धार्मिक स्थल, स्तुपा, चैत्य, र गुम्बाहरूको अतिक्रमण र जीर्ण अवस्थाको संरक्षण तथा पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ। यी स्थलहरू बौद्ध धर्मसँग सम्बन्धित भए तापनि तिनले नेपालको समग्र पर्यटन क्षेत्रको विकासमा ठुलो योगदान पुर्‍याएको उल्लेख गर्दै संघले सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ।

अन्त्यमा, संघले नेपालका शेर्पा गाउँहरूमा स्थानीय भाषामा अध्ययन अध्यापनको नीति भए पनि त्यसको कार्यान्वयन नभएकाले प्राथमिक तहमा शेर्पा भाषाको अध्ययन अध्यापन अनिवार्य गर्नुपर्ने माग गरेको छ। संघले यी मागहरू कुनै जाति विशेषको नभई समग्र राष्ट्रको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सम्बन्धित निकायमा निर्देशन दिन अनुरोध गरेको छ। ज्ञापनपत्रमा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, महासचिव आङ जाङ्बु शेर्पा, शेर्पा संघ अमेरिका अध्यक्ष पसाङ दोर्जी शेर्पा, शेर्पा किदुग न्युयोर्कका अध्यक्ष ई. तेम्बा शेर्पा, र सचिब पेम्बा गिर्मे शेर्पा लामालगायतका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update