बुटवल । निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्ताकाे झोलुङ्गे पुल पुर्ण रूपमा सम्पन्न भएकाे छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो मानिएको पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता जादै छन् ।
राष्ट्रपति पौडेल आज दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता जाने कार्यक्रम तय भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व्रबहादुर कुँवरले बताए । उनले सुरक्षा तथा सबै व्यवस्थापन भएको बताए ।
सांसद विनोद चौधरीकाे पहलमा उक्त पुल निर्माण भएको हो ।आफ्नै वडा कार्यालयमा जान भारतको बाटो भएर जानुपर्ने सुस्ताबासीकाे बाध्यताअब पुल निर्माणपछि हटेको छ । नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाहरूलाई सहज भएको छ ।
२०७० सालमा सम्झौता भएको यो झोलुङ्गे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो । स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देव करण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।
पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।
नारायणी नदीमा पुल बनेपछि सुस्ता पारी पहिलो पटक बिजुली पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्ता पारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् आइएको हो ।सांसद चौधरीले निर्वाचित भए लगत्तै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा विद्यतुीकरणका लागि पहल गरेका थिए ।