काठमाडौं । माछा मार्ने क्रममा दुधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ। खुट्टामा लगाएको चप्पल फुस्किएर पानीले बगाउँदै गर्दा अठ्याउन खोज्दा चिप्लिएर दुधकोशीमा डुबेर यही असोज ६ गते बेपत्ता भएका हलेँसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो। साथीहरूसँग माछा मार्न दुधकोशी गएका मगर असोज ६ गते साँझ मंगलटारमै पर्ने दुधकोशीस्थित कुखुरेबेँसीबाट बगेर बेपत्ता भएका थिए। बेपत्ता मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएका कारण खोजी कार्य कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मंगलटारका वडाध्यक्ष गन राईले जानकारी दिए। ‘कोशीमा बाढी आइरहेको छ। गोताखोर टोली आएलगत्तै खोजी कार्य तीव्र पारिएको थियो,’ उनले भने, ‘घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ। कोशीमा धमिलो बाढी आउने क्रम नरोकिएका कारण फेला पार्न सकिने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो।’ शरद ऋतु सुरु भएसँगै लेकाली क्षेत्रबाट बेँसी झर्न थालेका माछालाई छेकेर मार्नका लागि मंगलटारका मगरसहित आठजनाको समूह दुधकोशी झरेका थिए। आफूहरूसँगै माछा मार्न गएका साथी दुधकोशीमा बगेर बेपत्ता भएपछि घर फर्किएर उनीहरूले आफन्त तथा प्रहरीलाई खबर गरेका थिए।