काठमाडौ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढिपहिरोबाट घरवास गुमाएकाहरुको पुनस्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ। बाढिपहिरोपिडितको पुनर्स्थापनाका लागि आवासको प्रबन्ध गर्न राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा शहरी विकास मन्त्रालयले आवश्यक प्रकृया अगाडी बढाउने बैठकले निर्णय गरेको हो।
बाढीका कारण क्षतिग्रस्त पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने तथा सबै राजनीतिक दलहरु, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयमा उद्धार,राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय समेत भएको छ। यसैगरी सर्वदलीय बैठकले घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउनेलगायतका निर्णय समेत गरेको छ।