काठमाडौँ । छोराछोरी विदेशमा भएका ज्येष्ठ नागरिकहरूमा भावनात्मक र सामाजिक एक्लोपनको सिकार हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा यस्तो समस्या देखाएको हो ।
महानगरभित्र रहेका ज्येष्ठ नागरिकहरूमध्ये छोराछोरी विदेशमा भएका २१.७ प्रतिशत व्यक्ति गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको हो । त्यस्तै १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको सर्वेक्षण रिर्पोटले देखाएको छ ।यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको थियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका समेत अध्ययनले देखाएको छ । त्यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनको दाबी छ ।
महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए । जसको विनीता अधिकारी सुपरिवेक्षक थिइन ।छोराछोरी बिदेसिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपना र डिप्रेसन) को स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सबै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरूको जवाफ दिन चाहेनन् । जवाफ दिन नचाहनेलाई उनीहरुले दिएको जवाफm तथ्याङ्क विश्लेषणमा नराखिएको अध्ययनकर्ता अधिकारीले बताए ।
उनीहरूमध्ये १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो भने ५२ जनासँग कुराकानी गरिएको थियो । सहभागीको औसत उमेर ६९ वर्ष थियो । उनीहरूमध्ये २३७ जना (५२.९%) ले आफू साक्षर भएको बताएका थिए । ६६ जना (१४.७%) ले एसएलसी सम्मको अध्ययन गरेको, ३७ जना (८.२%) ले हाइस्कूल डिग्री हासिल गरेको, ७२ जना (१६.१%) ले स्नातक वा उच्च शिक्षा हासिल गरेको र ३४ जना (७.६%) ले निरक्षर रहेको बताएका थिए । उनीहरूमध्ये ८९.३% मध्यम वर्ग, ४% गरिब र ६.७% धनी परिवारका थिए ।अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषयविज्ञबाट विश्लेषण गरिएको थियो । उनीहरूमध्ये ४४.०९ प्रतिशतका एकजना बच्चा विदेश गएका थिए । ३५.३ प्रतिशतका २ जना, ९.६ प्रतिशतका तीन जना र १.१% का ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता देशहरूमा थिए ।
उनीहरूसँग ३४.६ प्रतिशतका छोराछोरीले दैनिक कुराकानी गर्छन् । ३०.८ प्रतिशतले हप्तामा दुई वा तीन पटक, १९.६ प्रतिशतले हप्तामा एक पटक र ३.८ प्रतिशतले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् ।६ प्रतिशतले आफ्नो नजिक शङ्कास्पद व्यक्ति रहको महसुस गरेका थिए । ६.५ प्रतिशतले आफूलाई अपरिचित र शङ्कास्पद व्यक्तिले निगरानी गरिरहेको महसुस भएको सुनाएका थिए । भने २०.५ प्रतिशतले आफू बिरामी भएकोले आफूलाई हेरचाह गर्न नजिकको मान्छे चाहिएको बताएका थिए ।यस्तो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले काठमाडौँ महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । उनीहरूलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानुनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको हो ।मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता स्थानमा ज्येष्ठ नागरिकहरूलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन समेत सुझाव दिएको छ ।सहरको चौतर्फी विकास गर्ने, युवाहरूलाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्ने, उनीहरूको हेरचाहको ख्याल गर्ने, मानसिक स्वास्थ्य बिग्रिन नदिन ज्येष्ठ नागरिकमैत्री सामान खरिद गर्ने स्थान बनाउने सुझाव समेत दिइएको छ ।