मुगु । तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् ।
मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलो लगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् । पश्चिम भेगमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर ३ ठूलागाँउमा रहेको गुरु माध्यमिक बिद्यालयमा अध्यानरत एकसय १९ छात्र, एकसय ६२ छात्रागरी जम्मा दुईसय ८३ जना विद्यार्थीहरु विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन् ।
विद्यालयमा रहेका दुईवटा शौचालय र एकवटा यूरिनलमा दिशा र पिसावले भरिएकाका कारण विद्यार्थीहरु दिशा र पिसाब गर्न बन जङ्गल, खेतबारीमा जान बाध्य भएका हुन् । घर नजिक भएका विद्यार्थीहरु आफ्नै घरमा जाने गरेपनि टाढा भएकाहरु बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरु बताउने गर्छन । विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसावले भरीभराउ र फोहोर छन तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरुलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताइन ।
विद्यालयमा रहेका शौचालयहरु पहिला दुईतीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा विग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए ।विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहित बिद्यालय भवनका लागि बजेट बिनियोजन गरी पालिका लागि परेको पालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताए ।