काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ ।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको हो ।ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुलेको छ । ङेमाले आफ्नै श्रीमती पनि कुवेतमै रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेको दाबी ब्यूरोले गरेको छ ।
यही शैलीमा एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएको खुलेको छ । कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको मिश्रले बताए ।त्यसपछि कुवेती नागरिकले बन्धक बनाई घरेलु कामदारको रुपमा राख्ने पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ । ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् ।
तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो । प्रहरीमा उजुरी परेपछि उनी ३ दिन थुनामा बसेर ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी थिइन् ।थुनामुक्तपछि दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टबाट उनी २९ माघ २०८० मा नेपाल आएकी आएकी थिइन् । त्यसपछि दिएको जाहेरीको आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।