काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् ।
मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् । इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’मा नपरेका अभिलेख तथा दस्तावेज यसमा समेटिएका छन् ।‘त्यस हिसाबले यो अभिलेख सङ्ग्रह अघिल्लो दस्ताबेज सङ्ग्रहको पूरक एवं निरन्तरता पनि हो’, उनले किताबमा लेखेका छन् । यस ग्रन्थमा संग्रहित दस्तावेज सेन, शाह र सिक्किमे राजाहरूले पल्लो किरात, लिम्बुवानका लिम्बू, याक्खा, आठपहरियालाई राय, राए, राई सम्बोधन गरी प्रदान गरेका लेखकको भनाइ छ ।
पूर्वकुलपति काइँलाले यो किताबले दुई सय–तीन सय वर्षभित्रका कुराहरूको जानकारी दिने बताए । ‘हाम्रो राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थितिहरूको बारेमा यहाँ भएका टिपोट, लालमोहर, रुक्का, सनद, सवाल, कस्यरुक्का, आदि जो छन् तिनले हामीलाई यो बताउँछ’, उनले भने, ‘हाम्रो स्थिति के थियो ? समाज कसरी चल्थ्यो भन्ने कुरा यी यहाँ संग्रहित गरिएका कागजपत्रले हामी बुझ्छौं । हाम्रो सामाजिक चालचलन, हाम्रो सांस्कृतिक थितिहरूको कुराहरू हामी बुझ्छौं ।’