काठमाडौ । एकीकृत समाजवादीका नेताहरूले महाधिवेशनको म्यान्डेटविपरीत गरिएका सबै कामकारबाही खारेज गर्न माग गरेका छन् । अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले महाधिवेशनको भावनाविपरीतको केन्द्रीय समिति, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न माग गरेका छन् ।
३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटब्युरो कमिटीसमेत अवैध रहेकाले खारेज गर्नुपर्ने उनीहरूको माग छ । डा। विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महतलगायत दर्जनौँ नेताले दुईबुँदे माग राख्दै पार्टीभित्र उत्पन्न परिस्थितिबारे गम्भीर समीक्षा गरी पार्टी एकता जोगाउँदै विकास र विस्तार गर्ने बाटो पहिल्याउन केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले महाधिवेशनमा गरेको बाचा उल्लंघन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घन्टी बजेको नेताहरूको दाबी छ । महाधिवेशनपछि उत्साह र एकता कायम हुनुपर्नेमा निराशा र विभाजनका परिदृश्य देखिनु दुःखद भएको उनीहरूले बताएका छन् ।
उनीहरूले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो निराशा र विभाजनका गम्भीर परिदृश्य देखापर्न थाल्नु दुःखद विषय भएको बताएका छन् । ‘यसो हुनुको मुख्य कारण महाधिवेशनको मञ्चबाटै सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालले सबै प्रतिनिधिका अगाडि गरेको बाचाबन्धनको उल्लंघन गर्नु रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।