Ekhab4r
२१ लाखभन्दा बढीको अवैध कपडा बरामद

काठमाडौं । वीरगन्ज महानगरपालिका– १६ नगवामा सशस्त्र प्रहरी बलले छापा मारेर २१ लाख रुपैयाँभन्दा बढीको अवैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले बुधबार बिहान नगवाको नयाँबस्तीस्थित तीनवटा घरमा छापा हानेर २१ लाख २१ हजार आठ सय रुपैयाँ मूल्यका विभिन्न ब्रान्डका कपडा बरामद गरेको हो।

नगवाको नयाँबस्तीका तीनवटा घरमा गोदाम बनाएर भारतबाट राजस्व छलेर ल्याइएको कपडा भण्डारण गरी राखेको अवस्थामा छापा मारेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए। उनका अनुसार सूचना पाएपछि सशस्त्र प्रहरीको टोलीले ती घरमा पुगेर खानतलासी गर्दा ती कपडाहरू बरामद गरेको हो।

गोदाममा कपडा भण्डारण गरेर राख्ने सामानधनीको पहिचान नखुलेको भन्दै उनले यसबारेमा अनुसन्धान भइरहेको बताए। बरामद कपडा बुधबार दिउँसो आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update