Ekhab4r
विजयादशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् : प्रचण्ड

काठमाडौ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले विद्यमान रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सदभाव, पारिवारिक पुनर्मिलन एवं संकटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन्।
 

‘देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरुरी छ,’ उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।’ 

दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठुलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्त्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन प्रचण्डले सबैमा अपिल गरेका छन्।

विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सदभाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएको जनाउँदै उनले विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठुलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताएका छन्।

    दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिंगाे देश आक्रान्त बनेको उल्लेख गर्दै उनले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाकाे प्रबन्ध गर्न सरकारको पुनः ध्यानाकर्षणसमेत गराएका छन्। 

पीडा र चुनौतीबिच पनि धैर्यपूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प छैन भन्दै प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारविहीन नागरिकलाई पुनर्स्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुललगायतका संरचनाहरूको पुनर्निर्माणमा तीव्रता दिएर आमजनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनः स्मरण गराउन चाहन्छु ।’

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update