काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।
यसरी जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।यस्तै ट्राफिक उल्लघंन अभिलेख प्रणाली ‘डिजिटल चिट’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले मानिसका जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको बताएका छन् ।मन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने सरकारका अंगहरुमध्ये प्रहरी पहिलो अंग भएको बताएका हुन् ।
उनले भने, ‘सबै सेवाहरुलाई प्रबिधिकामार्फत सम्पादन गर्ने, सम्पूर्ण शासनलाई प्रबिधियुक्त शासन बनाउने, प्रविधियुक्त प्रशासन बनाउने सबै सेवा दिने निकायहरुलाई प्रबिधि प्रदान गर्ने र मुलुकमा समग्र रुपले सुशासनको स्थापना गर्ने विषयमा हामी अगाडि बढ्ने छौं । सरकारसँग नागरिकलाई जोड्ने सरकारका अंगहरुमध्ये प्रहरी एउटा पहिलो अंग हो । जसले सरकारलाई नागरिकसँग जोड्छ । कुनै मानिस पीडामा परेको छ त्यहाँ प्रहरी खोजिन्छ । अन्यायमा परे, कानुनको उल्लंघन गरे, मान्छेलाई न्याय दिनुपर्ने ठाउँमा समेत प्रहरी चाहिन्छ । अपराध, अन्याय,गलत काम गर्ने मानिसलाई कानूनको घेराभित्र पनि प्रहरीले ल्याउनुपर्छ । त्यसकारण जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छ ।’साथै उनले प्रहरीमा मनिसले सरकारको मुहारसमेत देख्ने गरेको बताए । उनले प्रहरीले विनम्रताका साथ प्रस्तुत भएर सेवा दिए सेवाग्राही खुसी हुने बताए ।