सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण गरिरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ । उनी २०७९ मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट सिराहा–३ बाट निर्वाचित श्रेष्ठले सिराहाको गोलबजार नगरपालिका–८ की ११ वर्षीय बालिका ललिता सिंह (नाम परिवर्तित)लाई चरम बाल शोषण गर्दै आएका छन् ।
आमाको ममतामय काखमा लुटुपुटु गर्ने, बाबुको आङ्मा बुइँ चढ्ने, मसिना मसिना कुरामा दङ्ग्याउने, रमाउने निर्दोष, कोमल हृदय भएकी ललिता साथिहरुसँग रमाउँदै, खेल्दै स्कुल जाने समयमा मन्त्री श्रेष्ठको घरमा अमानवीय यातना सहेर नुनिलो आँसुको घुटको पिउँदै बाल श्रमिक बन्नु बाध्य हुनुपरेको छ ।ललिता जनता नमूना माध्यमिक विद्यालय चोहर्वामा कक्षा ४ मा अध्ययनरत थिइन् । पूर्वमन्त्री श्रेष्ठको घरमा श्रमिकका रुपमा काम गर्न थालेपछि उनको स्कुले जीवनमा पुर्ण विराम लागेको छ ।
नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्ग बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ । संवैधानिक रूपमा निषेधित र दण्डनीय, (संविधानको धारा ३९), विशेष कानुन बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, सान्दर्भिक कानुनहरू अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराध संहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ बालश्रम शोषणसँग सम्बन्धित छन् । यी सबै ऐन र कानूनविपरित पूर्व कानूनमन्त्रीले नै बालश्रम शोषण गरिरहेका भएपनि नियामक निकायहरु भने मौन छन् ।
सांसद श्रेष्ठको घरमा घरमा पालिएको कुकुरको नाम हो ‘डब्बु’ । डब्बु भाग्यमानी छ किनकि उ पूर्वमन्त्रीकी छोरीको प्यारो छ ।
पूर्व मन्त्रीकी छोरीलाई ‘डब्बु’ अतिप्रिय छ । तर समस्या के भयो भने ‘डब्बु’ राति एक्लै सुत्दैन । डब्बुको दिन पूर्व मन्त्रीको छोराछोरी र पत्नीको काखमा लुटुपुटु गरेर बित्छ । तर राति उसलाई काखीच्यापेर सुत्ने एक जना चाहिन्छ । यही काम गर्छिन ललिता ।