Ekhab4r
सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु 

दाङ । तुलसीपुरको साततलेमा यात्रुबहाक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६की ३१ वर्षिया टीकादेबी वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् ।

घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ । राप्ती राजमार्ग अन्तरगत सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । जिप सडकबाट झन्डै तीन सय मिटर तल खसकोे छ । जिपमा चालक सहित पाँच जना यात्रु सवार थिए । घटना लगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । दुर्घटनाको कारण खुली सकेको छैन।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update