काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)ले एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भोलि कात्तिक ११ र १२ गते होटल सोल्टीमा हुन लागेको कार्यक्रमको तयारी सकिएको प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ मूल नारासहित मनाउन लागिएको गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिने उनले जनाएका छन् ।
‘गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ । उक्त कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको प्रचार गरिएपछि आरके शर्मा पक्षले व्यापक विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् ।गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै काठमाडौँमा यही अक्टोबर २७ र २८ मा आयोजना गर्न लागिएको भनिएको साधारण सभालाई बहिष्कार गर्न अपिल गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रमप्रति असहमति व्यक्त गरेका हुन् । गौतमका अनुसार, एनआरएनएको १० औँ महाधिवेशनपछि उत्पन्न असहज परिस्थितीलाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययनपछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ। तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघलाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए । गौतमले भने,‘हाल एनआरएनएको आवश्यकता भनेको सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशानुसार महाधिवेशन सम्पन्न गर्नु हो । त्यसको विपरीत बद्री केसी पक्षधरले काठमाडौँमा अनधिकृत कार्यक्रम आयोजना गर्दै गैरआवासीय नेपालीद्वारा संकलित रकमको दुरुपयोग गरी पाचँतारे होटलमा ककटेल पार्टी र डिनरको आयोजना गर्ने काम गरिरहेको छ ।’
गौतमले यस्ता गतिविधि संघको सचिवालयले सहयोग गरे संघले त्यस्ता गतिविधिलाई प्रतिरोध गरिने पनि चेतावनी दिएका छन् । साथै, उनले गैरआवासीय नेपालीहरुको एकता कायम गर्न सबैलाई आग्रह गर्दै नेपालका मुख्य दलहरूलाई पनि यस विवाद समाधानमा पहल गर्न अपिल गरेका छन् ।प्रधानमन्त्री र अन्य उच्च पदाधिकारीलाई उक्त अनधिकृत कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गर्दै गौतमले, ‘प्रधानमन्त्रीज्यूले परराष्ट्र मन्त्रालय समेतको निर्देशनको अपहेलना हुनेगरी सहभागी भएमा हाम्रो असहमति र विरोध हुनेछ,’ भनेका छन्। गौतमले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।