काठमाडौं । नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ शुक्रबारदेखि भृकुटीमण्डपमा जारी छ । एक्स्पो कार्तिक १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ सुरू भएको हो ।
पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिका छन् । तर तिहारको छेको पारेर प्रदर्शनीम राखिएका विभिन्न प्रजातिका फूल तथा बिरुवाहरू विक्रीमा सडकमा भइरहेको प्रदर्शन र जुलुसका कार्यक्रमले प्रभावित भएको आयोजकको भनाइ छ ।
माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शन र यातायातमा भएको अवरोधले प्रभावित बनेको छ । जुलुस गर्दा व्यावसायमा घाटा भएको नर्सरी व्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष रबिन गौतमले बताए ।
उनले भने, ‘६ महिना अगाडिदेखि समाज कल्याण परिषद्को कार्यालयमा गएर ठाउँ बुक गरेर कार्यक्रमको तयारी गरेका थियौं । गत साल पनि फ्लोरा एक्स्पो आयोजना गरेका थियौं । तर आज नेकपा माओवादी केन्द्रको विशाल विरोध सभा एक्स्पो अगाडि नै राखिदिनुभयो । ६ महिनाअघि घोषित कार्यक्रम हो, तीन महिनादेखि तयारीमा थियौं । विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौं । तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो । जसका कारण ठूलो घाटा व्यहोर्नुपरेको छ ।’ साथै उनले दिनमा एक हजार अवलोकनकर्ता आउनेमा माओवादी केन्द्रको खबरदारी जुलुसले एक हजार अवलोकनकर्ता मात्र आएको गुनासो पोखे । यसरी आन्दोलनहरुले गर्दा नर्सरी व्यवसायी मारमा परेको बताए । उनले राजनीतिक दल र सरकारहरुले नै देश बिगारेको आरोप समेत लगाए । उनले भने, ‘देश राजनीतिक दल र सरकारले बिगारेको हो । यति ठूलो कृषि मेला हुँदाहुँदै पनि उहाँहरुले बेवास्ता गरेर अरुलाई असर पार्ने काम गर्नुभयो । नेता र पार्टीका कार्यकर्ताले गरेका कामहरुमा नेपाली जनताले सोच्नेबेला आएको छ ।’ सरकारले नर्सरी व्यवसायीहरुको लागि गतिलो काम केही नगरेको समेत बताए ।