Ekhab4r
विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ । नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।  रोहित पौडेलको कप्तानीमा चयन गरिएको यो टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको छ। 

अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा सन्दीप लामिछाने पनि खेल्ने छन् । उनी अमेरिकाविरुद्धको टी २० मा खेलेका थिएनन् । क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा घोषित १५ सदस्यीय टोलीमा ओपनर कुशल भुर्तेल, अनुभवी विकेटकीपर–ब्याटर आसिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। ओपनर र मध्यक्रममा कुशल मल्ल, आरिफ शेख, अनिल साह, भीम सार्की लगायत खेलाडीले ब्याटिङ जिम्मेवारी सम्हाल्नेछन्। बलिङतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारीमा ललित राजवंशी, कुशल मल्ल र अन्य बलरहरू छन्। मध्यम र तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र गुल्सन झाको उपस्थिति टिमको बलिङ आक्रमणलाई बलियो बनाउने छ।  बैकल्पिक खेलाडीको रुपमा सागर ढकाल र देव खनाललाई   राखिएको छ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्नेछ। घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका पहिलो खेलमा नेपालको लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ। लिग २ को तालिकामा नेपालले अहिलेसम्म ३ अंक बनाएर आफूलाई सातौं स्थानमा राखेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update