काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने बताएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले आफ्नो लक्ष्य र उद्देश्य परिपुर्ती गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘आन्दोलनमा थरिथरिका विचारहरु देखा पर्छन् । थरिथरिका व्यक्तित्वहरु सामेल भएका हुन्छन् । कोही टिकिरहन्छन् भने कोही टिक्न सक्दैनन् । कसैले एकखाले विचार बोकेका हुन्छन् त कसैले अर्को खाले । त्यसलाई हामीले छुट्याउन सक्नुपर्छ। यहीँ कम्युनिष्ट पार्टीका नेतापछि गएर दरबारको सामु आत्मसम्पर्ण गरे । कतिले धराशायी नै पारे, तर आन्दोलनलाई अघि बढाउने क्रममा २०२२ सालमा पनि अनेक कठीनाईहरु आए । तर अहिले पनि थुप्रै समस्याहरु देखा परिरहेका छन् ।
तर आन्दोलनमा एउटै बन्नुपर्छ किनभने हाम्रो शक्ति बढ्छ । शक्ति जती बढ्न सक्यो त्यती नै समाजमा राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । आफ्नो लक्ष्य र उद्देश्यलाई परिपूर्ति गर्नको लागि र साकार पार्नको लागि शक्तिका साथ लाग्न सक्नुपर्छ ।’
साथै, उनले कम्युनिष्टभित्र खुला बहसको आवश्यकता भएको बताए । उनले बहस गरेर लिएका नितीहरुलाई प्रत्येकले आत्मसमिक्षा गरेर कतिले आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका छौं भन्ने कुरा प्रष्ट हुने बताए ।