Ekhab4r
साफ महिला च्याम्पियनसिप - नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन

 काठमाडौँ । घरेलु टोली नेपाललाई २–१ ले हराउदै बङ्गलादेश लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप–०२४  को च्याम्पियन बनेको छ ।  बुधबार दशरथ रङ्गशालामा १५ हजार तीन सय ७३ समर्थक उपस्थित रहँदा दोस्रो हाफमा तीन गोल भए । पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।  बंगलादेशका लागि ५२औं मिनेटमा मनिका चक्माले गोल गरेकी हुन् । नेपाली डिफेन्डरले गल्ती गरेपछि बङ्गलादेशले अग्रता बनाउन सफल भएको हो । ५६औं मिनेटमा अमिषा कार्कीले १–१ को बराबरी गोल गरेकी हुन् । प्रीति राईले निकालेको थ्रु बलमा  गोलकिपर रूक्मा चक्मालाई बीट गर्दै  अमिषाले बराबरी गोल गरेकी हुन्।

८१औं मिनेटमा बङ्गलादेशले २–१ को अग्रता बनायो । रितु पुर्ना चक्माले दर्शनीय गोल गरिन् । उनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर अन्जीलाले रोक्ने प्रयास गरेपनि सफल भइनन् ।  पहिलो हाफामा दुवै टोलीको एक एक प्रहार पोलमा लागेको थियो । दोस्रो हाफमा कप्तान अञ्जीला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल टारेका थिइन् । ६८औं मिनेटमा मारिया माण्डाले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहारलाई अन्जीलाले बाहिर फ्याँकेकी थिइन् । 

यसअघि अमिषा कार्कीले १०औं मिनेटमा गरेको प्रहार बारमा लागेर फर्किएको थियो । दोस्रो मिनेटमै सविना खातुनले हानेको प्रहार पनि बारमा लागेर फर्किएको थियो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका थिए । फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बूलाई मौका दिएका छन् । रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन् । प्रशिक्षक तामाङले अन्य खेलाडी भने यथावत राखेका थिए । अग्रपंक्तिको जिम्मेबारी भने सावित्रा भण्डारीलाई दिएका थिए । फाईनल खेलमा घाइते दुई खेलादी दीपा शाही र हिराकुमारी भुजेल सँगै रातो कार्ड पाएकी रेखा पौडेल उपस्थिति रहेन । 

नेपालले भारतलाई पेनाल्टी सुट आउटमा ४–२ तथा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।  सन् २०२२ मा नेपाललाई दशरथ रङ्गशालामा हराउँदै बङ्गलादेश पहिलोपटक उपाधि जित्न सफल भएको थियो । योसँगै नेपाल लगातार १२औं पटक फाइनलमा पुगेर उपाधिविहिन भएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update