Ekhab4r
मेरापिक क्षेत्रमा ५००० मिटर उचाइमा निमार्ण गरिएकाे पहिलो स्वास्थ्य क्लिनिक आजबाट सञ्चालनमा

सोलुखुम्बु जिल्लााको दुर्गम हिमाली भेग महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालन भएकाे छ । पर्यटक, गाइड, भरिया र स्थानीय बासिन्दामा आएकाे स्वास्थ्य समस्यालाई लक्षित  गर्दै ५००० मिटर उचाइमा पहिलो पटक स्वास्थ्य क्लिनिक स्थापना भएको हाे।  “मेरा क्लिनिक” नामबाट स्थापना गरीएकाे स्वास्थ्य क्लिनिक आजबाट सञ्चालन गरीएकाे  छ ।

 पर्यटक, गाइड, भरिया र स्थानीय बासिन्दालाई जिवनयापनमा समस्या परेकाेले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य सुरु गरेको हाे। वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा. मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापनलाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

विश्वप्रसिद्ध हिमाली सौन्दर्य र चुनौतीपूर्ण भूगोलको प्रतीक मेरो पिक क्षेत्र, जसको नाम सुन्नासाथ साहसिक पर्यटनका सपना देख्ने थुप्रै देशी तथा विदेशी पर्यटक आकर्षित हुन्छन्। तर, स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण यहाँ आउने भरिया, गाइड, र पर्यटकलाई असुरक्षा महसुस हुँदै आएको थियो। यस क्लिनिकको स्थापना भएको नजिकको स्वास्थ्य सेवा सुविधा पुग्न चार दिनको लामो पैदल यात्रा गर्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ।

यस क्लिनिकको स्थापना विशेषगरी भरियाहरू, मजदुर र यहाँ काममा व्यस्त गाइडहरूको स्वास्थ्य सुरक्षाका लागि जीवनदायिनी बन्ने छ। साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्रीरोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा निःशुल्क उपलब्ध गराइरहेको छ। भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावका कारण वर्षेनी ५-१० जनाको मृत्यु हुने अवस्था रहेको थियो। मौसम खराब हुँदा हेलिकप्टर उद्धार सम्भव नभएपछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। अब भने क्लिनिकको सेवाबाट यो कठिनाइमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ।

५,००० मिटर उचाइमा स्थापित मेरा क्लिनिकले यहाँका सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समर्पित अटल प्रतिबद्धताको प्रतीक बनेको छ। उचाइको असर, चोटपटक, र आकस्मिक स्वास्थ्य समस्या जस्ता चुनौतीहरूलाई समाधान गर्न सक्षम यो क्लिनिकले महिला स्वास्थ्यको लागि पनि पहिलोपटक सेवा उपलब्ध गराएको छ, जसले महिलाहरूको स्वास्थ्य सुरक्षामा ऐतिहासिक योगदान पुर्‍याएको छ।

मेरा क्लिनिकको यो पहलले अन्य उच्च भूगोलमा स्वास्थ्य सेवा विस्तारका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास गरिएको छ। पर्यटक र स्थानीयहरूलाई सुरक्षित यात्रा र जीवनयापन सुनिश्चित गर्न यो क्लिनिक महत्त्वपूर्ण साबित हुनेछ।महाकुलुङ गाउँको हृदयमा स्थापना भएको यो क्लिनिक केवल एउटा भवन मात्र होइन; यो यहाँको कठिनाइसँग जुध्ने साहस, स्वास्थ्य सेवाको पहुँच, र भविष्यका निम्ति प्रेरणाको प्रतीक बनिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update