काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर विहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका थिए । यसैगरी, उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे । राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।