Ekhab4r
मानव तस्करीको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी  पक्राउ

विराटनगर। कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले  पक्राउ गरेकाे छ । उनलाई विराटनगरस्थित  निवासबाटै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ ।कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे ।कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थल फर्काइदिएकाे थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टिकाे  संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update