काठमाडौ -एक महिनाको तलबमा भएको विवादको बदला लिन कामदारदम्पतीले मोरङका कुखुरा व्यवसायीको विभत्स हत्या गरेको खुलेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका ४९ वर्षीय सहदेव बजगाईको हत्या उनकै फार्ममा काम गर्ने दम्पती उर्लावारी हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रतिसा पाँचकोटीले गरेको खुलेको हो।मोरङ प्रहरीलाई पक्राउ परेका दम्पतीले दिएको बयानअनुसार गत १० जेठदेखी मात्र बजगाईको कुखुरा फार्ममा तामाङ दम्पतीले काम गर्न थालेका थिए । कामदार दम्पतीलाई साहु बजगाईले मागेको तलब नदिने र रक्सी खाएर सधैँ गाली गलौज गर्ने गरेका थिए । यसै करण उनीहरुको बजगाइँसँग भनाभन भएको थियो।
त्यही विवादको बदला लिन फार्ममा सुत्न आएको मौका छोपेर कामदारदम्पतीले बन्चरो र खुकुरी प्रहार गरी २६ असार राती बजगाइँको हत्या गरेका खुलेको प्रहरीले जनाएको छ । बजगाईँको शव विभत्स अवस्थामा २७ असार विहान कुखुरा फार्मभित्रै फेला परेको थियो। प्रहरीले फार्मभित्र हत्यामा प्रयोग भएको रगत लतपतिएको बन्चरो र खुकुरी बरामद गरेको र काम गर्ने दम्पती फरार भएको पाइएपछि हत्यामा उनीहरुको संलग्नता रहेको आशंका गर्दैै खोजी तीब्र बनाएको थियो । फरार दम्पतीलाई प्रहरीले धरानको बलभद्रेश्वर मन्दिरको धर्मशालामा बास बसेको अवस्थामा सोही दिन राती पक्राउ गरेको थियो । हाल ईलाका प्रहरी बेलबारीको हिरासतमा रहेका दम्पतीले तलब नपाएको झोंकमा आफ्नौ साहुको हत्या गरेको स्वीकार गरेका मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए। एसपी कार्कीले भने, ‘हाल साविति बयानमा तलब नपाएको रिसमा हत्या गरेको स्वीकार गरेका छन् । थप कारण छ की भनेर पनि हामी सोधपुछ गरिरहेका छौँ।’