काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशत बढेको बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।२०८१ असोज मसान्तसम्मको् कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।