काठमाडौं । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ । समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको चासो छ ।
फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन् । ‘हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौं । यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन निर्माण गरेका हौं’, उनी भन्छन् ।उनले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । ‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं । अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौं’, उनले भने ।
उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे ।उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र सल्लाहमा आफूहरुले भोजपुरी र मैथिली भाषामा पनि फिल्म तयार पारेको खुलाए । ‘उहाँहरुले पूर्ण रुपमा मधेश प्रदेश र तराईका २२ वटा जिल्लामा अभियान चलाउनु होला भन्नु भएपछि भोजपुरी र मैथिली भाषामा पनि डबिङ गर्यौ’, उनले भने ।केही समयअघि भारतको बिहारस्थित सितामढीमा यो फिल्म प्रदर्शन गरिएको थियो । उनले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।