काठमाडौं । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ ।सामाजिक संजालहरुमा एमाले नेता डा.राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन। त्यस्तो चासोहरुमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ। तर कम्बोडियामा कार्यक्रम भने अर्कै छ ।चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका छन। आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन्। उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन्।
‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ ?’एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन् । कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफुसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन। उनले अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन। कोइरालाले सामाजिक संजाल फेसबुकमार्फतसमेत कम्बोडिया यात्राबारे बताएकी छिन् ।एसियाका राजनीतिक दलहरुको १२औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन। उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने बताएकी छन।
‘म मेरो मातृभुमीलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु’ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छिन।कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन। यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया पुगेका छन। अन्य नेताहरू विहीबार(आज)साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ ।