Ekhab4r
वार्षिक कार्ययोजना समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् । 

मन्त्रालयमा विहीबार आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । उनले भने, ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ । यी सबै कार्यमा यहाँहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजना बमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेश गरिएको १०० र २०० दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजन बमोजिम सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने रस्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मुल कार्यभार भएको मन्त्री गुप्ताको भनाइ छ । उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । उनले संसदमा विचाराधीन सङ्घीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टीमले समन्वय र सहजीकरण गर्नुपर्ने बताए । सङ्घीयतालाई थप सवलीकरण गर्नेगरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै सङ्घीय संसदमा पेश गर्नुपर्ने उनको भनाइ छ । बैठकमा मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता काली प्रसाद पराजुलीले मन्त्रालयको समग्र प्रस्तुति राखेका थिए । 

यस्तै, राष्ट्रिय किताबखानाका महानिर्देशक वैकुण्ठ निधी शर्मा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक सुन्दर श्रेष्ठ, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरी, निजामती कर्मचारी अस्पतालका उपसचिव जोरा सिंह धामी र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव कमल राज राजवंशीले आ–आफ्नो निकायको प्रस्तुति पनि राखेका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, राष्ट्रिय योजना आयोगकका सह–सचिव यज्ञराज कोइरालालगायतको उपस्थिति थियो । साथै बैठकमा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू, महानिर्देशक र शाखा प्रमुखहरूको पनि सहभागिता थियो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update