काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएकाे छ ।एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसिरहेको छ ।एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।