Ekhab4r
राहदानीको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी

काठमाडौं । सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् । 

पाँच दिनदेखि नयाँ राहदानी बनाउन नपाएका सेवाग्राहीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा आइतबार होहल्ला समेत गरेका थिए । उनीहरुले छिटो सेवा सुरु गर्न माग गरेका थिए ।विभागका प्रवक्ता विवेक रिजालले करिब तीन दिनजति सेवा समस्या आएको बताए । तर आइतबारदेखि सेवा सुचारु भएको उनले दाबी गरे । ‘सर्भरमा तथ्यांक व्यवस्थापनमा केही समस्या आएको हो । तर आइतबारदेखि आंशिक रुपमा समस्या समाधान भइसकेको छ । विस्तारै अन्य समस्याहरु समाधान हुँदै जानेछ । के कारणले समस्या आएको हो भन्ने विषयमा अध्ययन भइरहेको र केही दिनमा प्रतिवेदन आएपछि मात्र त्यसबारेमा बताउन सकिन्छ,’ उनले भने । 

विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी सेवा प्रभावित रहेको जानकारी दिएको थियो । तर आइतबार दिउँसोबाट सेवामा सहज भएको प्रवक्ता रिजालले नेपाल न्यूज बैंकलाई जानकारी दिए । उनले मिडियामा बढी प्रचारबाजी भएको दुखेसो गरे । यद्यपि, विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले सम्पूर्ण सेवा छिट्टै समाधान हुने जनाएको छ । अत्यावश्यक सेवा सुरु भएको र सबैतिर सामान्य हुन केही दिन लाग्ने विभागको भनाइ छ । पुरानो अवेदकहरुको काम सुचारु भएको जनाइएको छ । 

सेवा रोकिंदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको थियो । विभागले गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update