काठमाडौं । काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको पत्र सत्तारुढ दल एमालेले अस्विकार गरेपछि पत्र इमेल र हुलाकमार्फत नेकपा एमालेलाई पठाइएको छ ।
पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयका एक सदस्यले जानकारी दिए ।एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।उक्त जरिवानाको पत्र पुर्याउन हिजो (आइतबार) महानगरको टोली आफैं पार्टी कार्यालय पुगेको थियो। यद्यपि, उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै पत्र बुझ्न अस्वीकार भएको थियो ।
‘हिजो नै इमेल र हुलाकमार्फत हामीले जरिवानाको पत्र पठाएका छौँ,’ ती सदस्यले भने, ‘कुनै रेस्पोन्स आएको छैन ।’एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो ।महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ ।एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।