Ekhab4r
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं । यही मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।

आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा स्थापना गरिएको केन्द्रको सदस्यहरुमा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, आयोगका उपसचिव दुर्गा प्रसाद चालिसे र सदस्य सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहेका छन् ।

आयोगकी सहसचिव एवम् प्रवक्ता  नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ स्थानीय तह उपनिर्वाचन २०८१ का सन्दर्भमा निर्वाचन आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्धेश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिएको छ ।’
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update