Ekhab4r
चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रह

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री  निबास बालुवाटारमा भएको  भेटवार्तामा ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।उनीहरुले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिंदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने बिषय औल्याएका थिए।

उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र  तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए  ।यसैगरी, उक्त भेटवार्तामा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउँदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए ।  उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए। यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबीचको  छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।  

२०७७ फाल्गुन २१ गते तत्कालिन ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update