Ekhab4r
नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रममा उनले नेपालमा जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पछिल्लो समय प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेकाले नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् । 
उनले भने, ‘जियोटेक्निकल इन्जिनियरिङ सिभिल इन्जिनियरिङको सबैभन्दा महत्वपूर्ण पाटो हो । नेपालमा भूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ । नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा एकदमै राम्रो छ ।’ 

उनले पछिल्लो समय विकासोन्मुख देश र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरु धेरै प्रभावित भएको भन्दै कार्यक्रममार्फत युवा जियोटेक्निकल इन्जिनियरहरुले विश्वको प्रविधिहरु सिक्ने मौका पाउने बताए । उनले भने, ‘देशले कोभिडले गर्दा ठूलो अर्थ संकट व्यहोर्नु परेको थियो र त्यसको साथै पछिल्लो समय भारी वर्षाका कारण देश बाढी र पहिरोबाट पनि प्रभावित भएको छ  । विकासोन्मुख देश भएकाले र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरु धेरै प्रभावित भएको छ । यस समारोह हाम्रा युवा जियोटेक्निकल इन्जिनियरहरुले विश्वको प्रविधिहरु सिक्ने मौका पाउने छन् ।’ 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update