काठमाडौं - बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ ।
अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ । बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । यस समूहको वृद्धि विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो । व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी पूँजीकरणको हिसाबले साल्ट ट्रेडिङभन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ ।बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ । विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन । तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् ।
विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकी फाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादी ग्रुप पावर रहेका छन् ।