Ekhab4r
स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्छ : सिंह

तनहुँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्ने उनको सुझाव थियो ।उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने  विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए । तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए । ‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।’भानु नगरपालिकाका प्रमुख आनन्द ढुँगानाले नयाँ शहर आयोजना कार्यालय डुम्रे(भन्सार तनहुँको एकीकृत सरकारी भवनको निर्माणले नागरिकलाई सेवा प्रवाहमा सहज भएको बताए ।उनले भानु नगरलाई साँस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेको र त्यसमा शहरी विकास मन्त्रालयको साथ पाउने विश्वास पनि व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update